हरेक परिस्थिति संग जुध्न सक्ने क्षमता जो कोही संग हुँदैन । पिडाका प्रकृति पनि फरक हुन्छन् । कसेैले सहन सक्छ त कसैलाई सहन मुस्किल हुन्छ । संघर्ष मात्र गरेर हुँदैन संघर्षमा भाग्यले पनि साथ दिनु पर्छ भन्ने सोच राख्छिन् काभ्रे पाँचखाल निवासी सृजना प्याकुरेल । जिवनमा उतार चढाव नआएका होइनन् । सहनै नसक्ने तनाव पनि नभएका होइनन् । त्यस्ता तनावले आफूले आफ्नो जीवन समाप्त गर्ने सोच पनि आएको बताउँछिन् उनी । आखिर बाँच्नु त पर्ने नै रहेछ , भाग्य भन्दा धेरै र समय भन्दा बढी कसैले पनि केही नपाउने उनी भन्छिन् । समय नै सबै भन्दा ठूलो मल्हम भएको बताउँछिन् । हरेक मानिसको जिवनमा एक पटक मात्र अवसर आउँछ त्यही अवसरलाई समात्न सके सफलता आफ्नै हातमा हुने बताउँछिन् । नेपालीमा एउटा भनाइ नै छ जीन्दगीमा पढेर होइन परेर धेरै कुराको अनुभव लिन सकिन्छ । यही कुरालाई उनी आत्मसात् गर्दै अघि बढेको बताउँछिन् ।
जीवनमा एकै पटक यस्तो खालको अवसर आयो, जुन अवसरले उनलाई नयाँ जीवन प्राप्त भयो भन्दा फरक नपर्ला । यसको सम्पूर्ण श्रेय उनी महिला शक्ति विकास केन्द्र नेपालकी कार्यकारी निर्देशक कविता गुरुङलाई दिन चाहन्छिन् । २०६६ सालमा महिला शक्ति विकास केन्द्र नेपालले त्इत् तालिम दिएपछि २०७५ सालसम्म कोर लिडरको रुपमा काम गरेको र त्यसपछि क्षेत्रिय संयोजकको रुपमा काम गर्दै आएको बताउँछिन् । संस्थाबाट विभिन्न किसिमका तालिमहरु लिएर आफ्नो समुदायका दिदी बहिनीहरुलाई सोही तालिमहरु संचालन गर्ने बताउँछिन् । समुह व्यवस्थापन तथा सुदृढिकिकरण तालिम, महिला पुरुष समविकास तालिम, नागरिक शिक्षा सुशासन तथा महिला अधिकार सम्बन्धि आधारभूत तालिम देखि लिएर महिला हिंसा विरुद्धको सचेतनाको सम्बन्धि तालिमहरु संचालन गरेको अनुभव सुनाउँछिन् । संस्थामा आबद्ध भइसकेपछि विभिन्न कामहरु गरेको अनुभव सुनाउँदा उनी खुशीले भावविह्ल भएको पनि देख्न सकिन्थ्यो । उनले आफ्नो जीवनको १२ वर्ष यही संस्थामा बिताइसकेकी छिन् । कार्यकारी निर्दैशक गुरुङलाई आफ्नो आदर्श व्यक्तित्वको रुपमा लिन पाउँदा आफूलाई निकै भाग्यमानी सम्झिने प्याकुरेल उनै गुरुङको एक फोन कलले उनको जीवनमा आशाका थुप्रै किरणहरु ल्याइदिएको स्मरण गर्छिन् । आफ्नो जीवनको भोगाईबाट थुप्रै कुरा सिक्न सकिने र आफ्नो कथा सुनाउँने हो भने पनि एउटा उपन्यास नै तयार हुने बताउँछिन् । यदि महिला शक्ति विकास केन्द्र नेपालमा आफू आबद्ध नभइदिएको भए आज सृर्जना प्याकुरेलको नाम निशान नै नरहने बताउँछिन् । मानिस भएर जन्मिसकेपछि आफ्नो लागि मात्र नभएर पुरै समाजको लागि केही न केही काम गर्नु पर्ने रहेछ भन्ने शिक्षा पाएको बताउँछिन् । जीवन नष्ट गर्ने त कायरले मात्र हो भन्छिन् उनी । समस्याहरु थु्रपै आए, उतार चढावहरु प्नि आए, ती सबैलाई समाधान गर्दै आज यहाँ सम्म आएको बताउँछिन् । महिला शक्ति विकास केन्द्र नेपाल त एउटा साझा चौतारी रहेछ, दुःख सुख सटासाट गर्ने फूलवारी पनि रहेछ उनी थप्छिन् । एउटा चुल्होमा मात्र सिमित म जस्तो महिला जसले मलाई जस्तै पिडा परेको छ भनेर कसरी थाह पाउने ? आफूलाई परेको बज्रपात अरुलाई परेको छैन भन्ने सोच्ने म जस्तो महिला घर बाहिर निस्किएपछि थाह पाए मेरो जस्तो पिडा अरुलाई पनि हुने रहेछ । त्यसकारण सबै महिला दिदी बहिनी जागरुक बन्न आवश्यक छ ।
Comments